अहिले विश्व कोभिड–१९ को महामारीले आक्रान्त छ । यसको पूर्ण उन्मुलन नहुन्जेल विश्व सुरक्षित हुन् सक्दैन । कसैको असामयिक मृत्यु हुनु भनेको एउटा ज्यान गुम्नु मात्र होइन,मृतकसँग आश्रित परिवार, उसको समाज र देशको आड–भरोसा र सपना गुम्नु पनि हो । त्यसैले महामारीका विरुद्ध यसबेला हरेक नागरिकले आ–आफ्नो तर्फबाट जे सकिन्छ त्यो मदत गर्न जरुरी छ । जनसंख्याको तुलनामा अस्पताल, चिकित्सक, स्वास्थकर्मी र स्वास्थ उपकरण अत्यन्त न्यून भएको हाम्रो जस्तो देशमा कोभिड–१९ जस्तो महामारी विरुद्ध लड्न सरकारले मात्र सक्दैन । नागरिक तहबाट पनि पहल हुनुपर्छ । अहिले हामीले सहयोगको लागि दिएको थोरै समयले एक जनाको ज्यान बच्न सक्छ । यसै बोधले हामीले निःशुल्क प्राथमिक उपचार, परामर्श तथा निःशुल्क एम्बुलेन्स सेवा संचालन गरेका हौँ ।
अघिल्लो साल (२०७६ साल चैत्रबाट ) को लकडाउन अवधिभर ओम समाज डेन्टल हस्पिटलले जो अशक्त, वृद्धवृद्धा र अस्पताल आउन सम्भव नहुने स्थितिका रोगी छन् त्यस्ता वर्गलाई लक्षित गर्दै तिनका घर–घरमा गई नि ःशुल्क दन्त सेवा प्रदान गरेको थियो । यस वर्ष (२०७८ सालमा ) कोरोना महामारी अझ कडा र तीब्र भएको छ । अहिले बिरामीहरूले समयमा अस्पताल पुग्न एम्बुलेन्स पाउनै सकस छ । अस्पताल पुगे पनि बेड पाउन सकस छ । बेड पाए अक्सिजन, आइसीयु तथा भेन्टिलेटर पाउन सकस छ । आर्थिक अवस्था कमजोर हुने बिरामीलाई झनै सकस छ । यस्ता अनेक सकसले गर्दा बिरामीको मनमा अनावश्यक आतङ्क र डर छ । आत्तिएरै बिरामीको प्राण जाला भन्ने भय छ । यस्तो बेला चाहिने हो साथ, ढाढस, सान्त्वना र सेवा दिने मान्छे । तर आफुमा पनि संक्रमण फैलिएला भन्ने डरले सेवा दिने मान्छे पनि बिरामीको छेउमा जान डराइरहेका छन् । यस परिस्थितिलाई मनन गर्दै हामीले कोभिड १९ विरुद्ध नि:शुल्क सेबा अभियान सुरु गरेका हौँ । हाम्रो उद्देश्य बिरामीलाई तपार्इं एक्लो हुनुहुन्न, नआत्तिनु होस् हामी तपाईंको साथमा छौ भन्नु र साथ, सेवा प्रदान गर्नु हो ।
यही उद्देश्य पुरा गर्न यसपालिको लकडाउनमा ओम समाज डेन्टल हस्पिटलको पहलमा निःशुल्क ए्म्बुलेन्स सेवा तथा निशुल्क प्राथमिक उपचार तथा परामर्श अभियान पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको अध्यक्ष्यतामा डा.सुभाष घिमिरे, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, क्याप्टेन विजय लामा, शिक्षाविद् कर्ण बहादुर शाही, अधिवक्ता संजय राज अधिकारी, कलाकार निखिल उप्रेती, केदार घिमिरे, बिराज समाज (दिनेशकुमार मगर), रामहरी शर्मा, देवेन्द्र प्रधान लगायतका समाजसेवी, राष्ट्र सेवक, कलाकार, चिकित्सकहरूको सहयोगमा कोभिड १९ विरुद्धमा निःशुल्क सेवा अभियानको थालनी गरिएको हो । यस अभियानले गरिब, दुःखी, निमुखा र असहाय बिरामीलाई निःशुल्क एम्बुलेन्स, अक्सिजन (सास), बेड (बास) र खाना (गाँस) आदि सम्भव भएसम्म उपलब्ध गराउँदै आएको छ ।
ओम समाज डेन्टल हस्पिटलको एउटा एम्बुलेन्सबाट काठमाण्डौं उपत्यकामा सुरु भएको सेवा अभियान ओम समाजकै चिकित्सकको निजी सवारी साधनलाई समेत एम्बुलेन्स बनाई सेवा बिस्तार गर्दै अहिले देशभरि सेवा विस्तार गर्ने योजनामा लागिपरेको छ । यस अन्तर्गत पोखरामा सेवा विस्तार भइसकेको छ भने अन्यत्र पनि यो सेवा विस्तारित भएको अझै देशव्यापी रूपमा निःशुल्क सेवा विस्तार गर्ने योजना रहेको छ ।
हालसम्म दिइएको सेवाको विवरण
१) काठमाडौँ उपत्यकामा १०१० जना बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान ।
२) काठमाडौं उपत्यकामा काठमाडौं महानगर, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिकासँग समन्वय गरी ११ वटा निःशुल्क एम्बुलेन्स सेवा ।
३) चन्द्रागिरि साकोसका दुईवटा र वैकुण्ठधाम चन्द्रागिरिको एउटा निःशुल्क एम्बुलेन्स सेवा ।
४) चन्द्रागिरि नगरपालिका, टोखा नगरपालिका र काठमाडौं महानगरको वडा नं.– ५ सँग समन्वय गरी आइसोलेसन सेन्टरको व्यवस्था ।
५) माथि उल्लेखित महानगर र नगरपालिकाका आइसोलेसन सेन्टरमा कोभिड बिरामीहरुलाई पौष्टिक खाना प्रदान ।
६) काठमाडौँ उपत्यकामा ३००७ कोभिड बिरामीलाई निःसुल्क परामर्श सेवा प्रदान ।
७) पोखरामा निःशुल्क अक्सिजन सहितको एम्बुलेन्स ३५० जनालाई प्रदान ।
८) पोखरामा ५५१ जना कोभिड बिरामीलाई निःशुल्क परामर्श सेवा प्रदान ।
९) जेठ ८ गते कोरोना संक्रमण पुष्टि भई शुक्रबार अस्पतालमा उपचारको क्रममा निधन भएकी ३१ वर्षीय श्रेष्ठका श्रीमान् र दुई छोरी काज किरियाका लागि घर जान नपाइ अस्पताल परिसरमै अलपत्र अवस्थामा भेटिएपछि उद्धार गरी स्कारपियो मार्फत बर्दघाट पठाइएको ।
१०) जेष्ठ १५ काठमाडौंको – कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ मा भत्काइएका सुकुम्बासी बस्तीका बिचल्लीमा परेका अति विपन्न गरिब असहाय व्यक्तिहरूलाई अभियानका संयोजक – पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायत अभियान समूहकै निर्णयमा उक्त सुकुम्बासी बस्तीमा राहत वितरण ।
११)आशा नेपाल (गोदावरी) र अनाथ आश्रम (वालाजु) मा राहत वितरण ।
११) कास्की सहित गण्डकी प्रदेशका ११ जिल्लामा निःशुल्क एम्बुलेन्स सहितको सेवाका लागि पोखरामा हेल्प डेस्क स्थापना ।
राष्ट्रिय अभियान विस्तार
डा. सुभाष घिमिरे, नायक निखिल उप्रेती र ज्ञानेन्द्र बहादुर शाहीको नेतृत्वमा, शिक्षाविद् कर्णबहादुर शाही, पूर्व एआईजी राजेश श्रेष्ठ, विराज समाजका दिनेशकुमार मगर, शोभा गुरुङ लगायतका अभियन्ता यही जेठ २२ गते सुरुमा रामेछाप, सोलुखुम्बु, ओखलढुंगा तथा आसपासका जिल्लामा गई कोभिड १९ विरुद्धको निःशुल्क सेवा अभियानलाई राष्ट्रिय रूपमा विस्तार गरिने र करोडौंको अक्सिजन बनाउने मेसिन (oxygen concentrator) वितरण गरिने भएको छ । यस क्रममा मुलुकभरका विभिन्न जिल्लामा रहेका सबै अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ चौकी, सबै गाउँपालिकाहरू र नगरपालिकाहरूमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन प्रयोग हुने अत्यावश्यक सुरक्षा सामग्री वितरण गर्नेदेखि मनोसामाजिक परामर्श दिने तथा विभिन्न क्वारेन्टाइनमा, आइसोलेसनमा वा घरमा बसेका कोभिडका बिरामीलाई कसरी यसबाट बच्ने, संक्रमित भइसकेको भए के गर्नेजस्ता आवश्यक उचित परामर्श पनि दिइने छ ।