OM Samaj Dental Hospital

Categories
news

तपाईंले बुझ्नु जरुरी छ कोरोना भाइरसबारे यी २१ भ्रम 

कारोना भाइरसको आतंकले विश्वलाई चपेटामा लिइरहँदा, यो सम्बन्धमा विभिन्न असत्य हल्ला पनि बाहिर आइरहेका छन्। यो विशेष आलेखमा हामी तीमध्ये केही हल्ला र कन्स्पिरेसी थिओरीलाई सम्बोधन गर्दै छौँ। नोबल कोरोना भाइरसबारे कैयौँ हल्ला फैलिएको छ। अहिले सार्सकोभी२ को नामले चिनिने नोबल कोरोना भाइरस चीनको वुहान सहरमा पहिलोपटक देखापरेको थियो। अहिले यो भाइरस अन्टार्कटिका महाद्वीपबाहेक विश्वका सबै देशमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ११ मार्चमा आधिकारिक रूपमा यो भाइरसले निम्त्याएको विपत्लाई अन्तर्राष्ट्रियस्तरको जनस्वास्थ्य संकटकाल वर्गीकरणबाट विश्वव्यापी महामारी वर्गमा राखेको थियो। हालसम्म नोबल कोरोना भाइरसले विश्वभर ६ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ भने २८ हजारभन्दा बढीको ज्यान लिइसकेको छ। रोगप्रति जनमानसमा ठूलो त्रासको माहोल छ। र, यही त्रासबीचबाट गलत सूचना र हल्ला फैलिएका छन्। यहाँ हामी अहिले सामाजिक सञ्जाल र बाहिर फैलिइरहेका केही हल्लालाई छुट्याउनेछौँ 

भ्रम १ :  छालामा क्लोरिन वा मदिरा छर्कनाले शरीरको भाइरस नष्ट हुन्छ

शरीरमा रक्सी वा क्लोरिन छर्कनाले हानि गर्छ । विशेषतः यो आँखा वा मुखमा प्रवेश ग-यो भने नराम्रो असर पु-याउँछ । तर, हाम्रो घर र बाहिरतिर सतहमा रहेका कीटाणु मार्न यी रसायनको प्रयोग गरिन्छ । तर, छालामा यसको प्रयोग गर्नु हुँदैन । यी उत्पादनले शरीरभित्रका भाइरस मार्न सक्दैनन् ।

भ्रम २ : भाइरसबाट केवल वृद्ध, वयस्क र युवाहरू जोखिममा छन् 

अन्य कोरोना भाइरसका प्रजातिले जस्तै, सार्स-सिओभी-२ ले जुनसुकै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्छ । यद्यपि, वृद्ध तथा पहिलेबाट मधुमेह वा दम रोग लागेका व्यक्तिलाई भने यो भाइरसले सिकिस्त बिरामी बनाउने सम्भावना बढी हुन्छ ।

भ्रम ३ : बालबालिकालाई कोभिड१९ ले संक्रमण गर्दैन

सबै उमेर समूहका मानिस संक्रमित हुन सक्छन् । धेरैजसो केस अहिलेसम्म वयस्कमा देखिएको छ, तर बालबालिका पूर्ण सुरक्षित छन् भन्नेचाहिँ होइन । प्रारम्भिक तथ्यले बालबालिका पनि संक्रमित हुने देखाएको छ, तथापि तिनमा रोगका लक्षण त्यति गम्भीर देखिएका छैनन् ।

 भ्रम ४ : कोभिड१९ अरू फ्लुजस्तो मात्र हो 

सार्स-सिओभी-२ ले निम्त्याउने बिमारीहरू फ्लुकै जस्ता ज्वरो आउने, जिउ दुख्ने र खोकी लाग्ने हुन्छन् । त्यस्तै, कोभिड–१९ र फ्लु दुवैले निम्त्याउने बिमारीहरू हल्का, गम्भीर र थोरैमा प्राणघातक हुन सक्छन् । दुवै रोगले निमोनिया गराउन सक्छन् । तथापि, कोभिड–१९ को समग्र चित्र भने थप गम्भीर छ ।

हालसम्म कोरोना भाइरसले निम्त्याएको प्रकोपले संक्रमितमध्ये एकदेखि तीन प्रतिशतको मृत्यु भएको छ । यसैले यो मौसमी फ्लुभन्दा धेरै प्राणघातक देखिएको छ ।

भ्रम ५ : कोभिड१९ लाग्ने सबै मर्छन् 

यो भनाइ असत्य हो । हामीले माथि नै उल्लेख गरिसक्यौँ, कोभिड–१९ ले केवल थोरै प्रतिशत मानिसको मात्र ज्यान लिएको छ । भर्खरैको चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले प्रकाशित गरेको एक रिपोर्टअनुसार कोभिड–१९ लागेकामध्ये ८०.९ प्रतिशतमा हल्का मात्र लक्षण देखिएको थियो । विश्व स्वास्थ्य संगठनले पनि ८० प्रतिशतमा हल्का मात्र अस्वस्थता देखिने बताएको छ । हल्का लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, थकान र सास फेर्न गाह्रो हुने आदि पर्छन् ।

भ्रम ६ : बिरालो र कुकुरले कोरोना भाइरस फैलाउँछन् 

अहिलेसम्म कोभिड–१९ ले बिरालो र कुकुरलाई संक्रमित गरेको थोरै मात्र प्रमाण भेटिएका छन् । यद्यपि हङकङमा पोमेरियन प्रजातिको एउटा कुकुरमा उसको मालिकबाट भाइरस संक्रमण भयो । तथापि, कुकुरमा भाइरसका कारण हुने अस्वस्थता भने देखिएन । केही वैज्ञानिकले यस प्रकरणलाई त्यति महत्व दिन नहुने बताएका छन् । उदाहरणका लागि, बेलायतको नोटिंघम विश्वविद्यालयको मोलिकुलर भाइरोलजीका प्रोफेसर जोनाथन बल भन्छन्, ‘हामीले वास्तविक संक्रमण र भाइरस जीवको शरीरमा रहेको कुरामा भिन्नता छुट्याउनुपर्छ । मलाई अझै पनि यो शंकास्पद लाग्छ । किनकि, विश्वभर यो प्रकोप मानिस–मानिसबीच फैलिइरहेको छ । कुुकुरको शरीरमा थोरै मात्रामा भाइरस देखिएकाले उबाट अर्को कुकुर वा मानिसमा सर्नेमा आशंका छ, त्यसैले आत्तिनुपर्ने कुरा छैन ।’

भ्रम ७ : मास्कले कोरोना भाइरसबाट बचाउँछ

स्वास्थ्यकर्मीले संक्रमणबाट बच्न पेसागत मास्कको प्रयोग गर्छन्, जुन अनुहारको वरिपरि टिपिक्क मिलेर बसेको हुन्छ । एकपटक प्रयोग गरेर फालिने मास्कले त्यस्तो सुरक्षा प्रदान गर्न असम्भव छ । यी मास्क अनुहारमा कसिलोसँग नबस्ने हुँदा भाइरसयुक्त साना कण मुख र नाकमा प्रवेश गर्न सक्छन् । तर, यदि कसैलाई श्वासप्रश्वाससम्बन्धी रोग छ भने मास्क लगाउँदा अरू संक्रमित हुनबाट जोगिन्छन् । ‘मास्क पहिरिने व्यक्तिलाई संक्रमण हुँदै नहुने भन्ने प्रमाण भेटिएको छैन,’ लन्डनस्थित युनिभर्सिटी कलेज अस्पतालका एक्युट मेडिसिन र संक्रामक रोगका परामर्शदाता डा. बेन किलिलेएले भने, ‘यसबाहेक मास्क लगाउँदा पहिरिनेले अतिरिक्त आत्मविश्वास महसुस गरेर ढुक्क हुन सक्छन् र संक्रमण नियन्त्रणमा आवश्यक हात धुनेजस्ता अन्य अभ्यासलाई बेवास्ता गर्न सक्छन् ।’

 

डब्ल्युएचओको सुझाबअनुसार जो व्यक्ति कोभिड–१९ सन्दिग्ध व्यक्तिको हेरचाह गरिरहेको छ उसले पनि मास्क लगाउनुपर्छ । यी अवस्थामा पनि, व्यक्तिले नियमित रूपमा अल्कोहल मिसिएको स्यानिटाइजर वा साबुनपानीले हात धुने गरेमा मात्र मास्क लगाउनु प्रभावकारी हुन्छ । साथै, मास्क प्रयोग गरिसकेपछि त्यसलाई राम्रोसँग डिस्पोज गर्नु महत्वपूर्ण छ ।

भ्रम ८ : सुक्खा हातमा कोरोना भाइरस मर्छ 

हात सुकाउँदैमा कोरोना भाइरस मर्दैन । आफू र अरूलाई भाइरसबाट जोगाउने सबैभन्दा उत्तम तरिका भनेको अल्कोहलयुक्त स्यानिटाइजर वा साबुनपानीले आफ्नो हात धुनु हो ।

भ्रम ९ : नोबल कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसबाट म्युटेट भएको हो 

कोरोना भाइरसमा धेरै भाइरस पर्छन् । ती सबैको सतहमा चुच्चो प्रोटिनका सुइरो आकृति हुन्छ । यी भाइरसमध्ये केहीले मानिसलाई रुघाखोकी लगाउँछन् । अन्य कोरोना भाइरसहरू, जस्तै सार्स-सिओभी-२ ले मुख्यतः जनावरलाई संक्रमित गर्छन् । मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) र सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम (सार्स) सुरुमा जनावरमा देखापरे र पछि मानिसमा सरेको हो ।

भ्रम १० : भाइरसले तपाईंलाई संक्रमण गर्न संक्रमितसँग १० मिनेट बिताउनुपर्छ

संक्रमित व्यक्तिसँग कसैले जति लामो समय बिताउँछ, त्यति नै धेरै त्यो व्यक्तिलाई भाइरसले संक्रमण गर्ने सम्भावना हुन्छ, तर यो भाइरस दश मिनेटभन्दा कम समयमा पनि सर्न सक्छ ।

भ्रम ११ : नुनपानीले नाक धुँदा कोरोनाबाट जोगिन्छ 

नुनपानीले नाक धुँदा श्वासप्रश्वासको संक्रमणबाट बचाउँछ भन्ने कुनै प्रमाण छैन । केही अनुसन्धानले यो प्रविधिले श्वासप्रश्वास प्रणालीको माथिल्लो नलीमा हुने संक्रमणबाट जोगाउने देखाएका छन् । तर, वैज्ञानिकले यसले संक्रमणको जोखिम कम हुने तथ्य पत्ता लगाएका छैनन् ।

भ्रम १२ : एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्दछ 

एन्टिबायोटिकले ब्याक्टेरियालाई मात्र मार्दछ, भाइरसलाई होइन ।

भ्रम १३ : थर्मल स्क्यानर (गन थर्मोमिटर) लेकोरोना भाइरस पत्ता लगाउन सक्छ 

थर्मल स्क्यानरले कसैलाई ज्वरो छ वा छैन, पत्ता लगाउन सक्छ । मौसमी फ्लुले पनि ज्वरो ल्याउँछ । सामान्य रूपमा, कोभिड–१९ को लक्षण संक्रमणको २—१० दिनपछि देखापर्न सक्छ । जसको मतलब भाइरस संक्रमित भएका व्यक्तिमा पनि ज्वरो सुरु हुनुअघि सामान्य तापक्रम हुन सक्छ ।

भ्रम १४ : लसुनले कोरोना भाइरसबाट रक्षा गर्छ 

केही अनुसन्धानले लसुनले ब्याक्टेरियाका केही प्रजातिको वृद्धिलाई कम गर्ने देखाएको छ । तर, कोभिड–१९ भाइरसको कारणले संक्रमण फैलिन्छ र लसुनले मानिसलाई कोभिड–१९ विरुद्ध बचाउन सक्छ भन्ने कुनै प्रमाण छैन ।

भ्रम १५ : चीनबाट आएको सामानले कोरोना भाइरस फैलाउन सक्छ 

पछिल्लो अनुसन्धानबाट पत्ता लगाइएका सार्स-सिओभी-२, सार्स र मार्स जस्तै हुन् । वैज्ञानिकहरू भाइरस चिठी वा प्याकेजमा लामो समयसम्म बाँच्न सक्दैन भन्ने विश्वास गर्छन् । सिडिसीका अनुसार, ‘बाहिरी सतहमा यी भाइरसको बाँच्ने सामथ्र्य कम भएको कारणले केही दिन वा हप्ताको समयपछि हाम्रो हातमा आइपुग्ने सामानबाट भाइरस फैलिने जोखिम धेरै कम छ ।’

भ्रम १६ : घरेलु उपचारले कोभिड१९ निको पार्छ 

चर्चामा रहेका भिटामिन सी, खाने तेल, तिलको तेल, लसुन वा हरेक १५ मिनेटमा पानी पिउनेजस्ता कुनै घरेलु सामग्री वा अभ्यासले कोरोना भाइरस संक्रमण निको पार्दैन । यो रोगविरुद्ध दैनिक जीवनमा अंगीकार गर्नुपर्ने सबैभन्दा उत्तम बानी राम्रोसँग हात धुने र अस्वस्थ मानिसबाट टाढा रहनु हो ।

भ्रम १७ : मलमूत्रबाट कोरोना भाइरस सर्न सक्छ 

यस सम्बन्धमा प्रमाण भेटिएको छैन । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्रोफेसर जोन एडमन्ड यसबारे भन्छन्, ‘भन्दा त्यति राम्रो नसुनिएला, हामी सबै थुक–सिँगान निल्ने गर्छौं । तर, श्वासप्रश्वास नलीबाट तल पेटमा पुगेपछि त्यहाँ रहेको एसिडले मार्छ । हाल उपलब्ध उत्कृष्ट उपकरणले मलमूत्रमा रहेका भाइरस पनि पहिचान गर्न सक्छ, तर हालसम्मको अध्ययनले दिसापिसाबमा भाइरस भेटिएको छैन ।’ यद्यपि केही अनुसन्धानले सार्स-सिओभी-२ जस्तै प्रकृतिका भाइरस मलमूत्रमा भेटेका छन् ।

संक्रमित व्यक्तिसँग १० मिनेटभन्दा कम समयमा पनि कोरोना भाइरस सर्न सक्छ त्यसैले व्यक्तिव्यक्तिबीच दूरी कायम गर्नु नै उत्तम हो ।

रुघाखोकी र फ्लु लगाउने केही भाइरस चिसो महिनामा सजिलोसँग सर्न सक्छन्, तर यसको मतलब मौसम न्यायो भएपछि तिनको प्रसार पूर्ण रूपमा रोकिन्छ भन्ने होइन । हालसम्मको अवस्थामा वैज्ञानिकसँग, तापमान परिवर्तनले सार्स-सिओभी-२ को स्वभावमा कस्तो प्रभाव पार्छ भन्ने कुनै जानकारी छैन ।

भ्रम १८ : कोरोना भाइरस मानिसले थाहा पाएको हालसम्मकै सबैभन्दा घातक भाइरस हो 

सार्स–सिओभी–२ इन्फ्लुएन्जाभन्दा गम्भीर देखिन्छ, तर यो मानिसले सामना गरेको सबैभन्दा प्राणघातक भाइरस होइन । योभन्दा त इबोलाको मृत्युदर उच्च छ । अझ तीभन्दा खतरानाक भाइरस त कति हो कति छन् ।

भ्रम १९ : फ्लु र निमोनियाका खोपले कोभिड१९ बाट पनि बचाउँछ 

सार्स-सिओभी-२ अन्य भाइरसभन्दा फरक छ र हाल विद्यमान कुनै पनि खोपले कोरोना भाइरसको संक्रमणबाट हामीलाई जोगाउँदैन ।

भ्रम २० : भाइरसको उत्पत्ति चीनको प्रयोगशालामा भयो  

यो इन्टरनेटले फैलाएको हल्लाबाहेक केही होइन । भर्खरै सम्पन्न एउटा अध्ययनले यो भाइरसलाई उद्विकासको स्वाभाविक उत्पादन बताएको छ । केही अनुसन्धाताले सार्स—सिओभी—२ सालकबाट मानिसमा सरेको शंका गरेका छन् । अरू अनुसन्धाता भने विगतमा सार्स प्रकोपमा जस्तो यो चमेरोबाट मानिसमा सरेको ठान्छन् ।

भ्रम २१ : चमेराको सुपबाट महामारी सुरु भयो 

वैज्ञानिक यो भाइरस जनावरबाट आएको भन्नेमा विश्वस्त छन्, तर यो कुनै प्रकारको सुपबाट आएको भन्ने कुनै प्रमाण छैन ।

(नया पत्रिकाबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *