पहिलो चरणको कोभिड–१९ विरुद्ध मेची–महाकाली मनोसामाजिक परामर्श अभियान
(रामेछाप–ओखलढुङ्गा–सोलुखुम्बु–सिन्धुली–महोत्तरी हुँदै सिराहासम्म)
ओम समाज डेन्टल अस्पतालको एउटा एम्बुलेन्स मार्फत सुरु भएको कोभिड १९ विरुद्धको २४ सै घण्टा निःशुल्क (एम्बुलेन्स) सेवा अभियानले विस्तारित रूप लिँदै हाल विभिन्न स्थानीय निकाय र संघ संस्थाको समन्वयमा १७ वटा निःशुल्क एम्बुलेन्स सेवा, विभिन्न ठाउँमा निःशुल्क बेड, खाना र अक्सिजन सहितको आइसोलेसन (एकान्तवास सेन्टर) निर्माण र सञ्चालनमा सहयोगी भूमिका निर्वाह गरिरहेको छ । काठमाडौँ उपत्यकाबाट सुरु भएको अभियानले मेची– महाकाली मनोसामाजिक परामर्श अभियान मार्फत राष्ट्रिय रूप ग्रहण गरेको छ ।
मेची–महाकाली मनोसामाजिक परामर्श अभियान २०७८ जेठ २१ देखि २८ सम्म
हाम्रो मुलुकमा कोभिडको संक्रमणका कारण मृत्यु हुनेको संख्या गत सालभन्दा अहिले बढी छ । तर अझै पनि कतिपय नागरिक ज्वरो आउँदा, रुघाखोकी लाग्दा यो पहिला पहिलाजस्तै साधारण रोग हो भन्ने ठानिरहेका छन् । कतिले त जँचाउन जाँदा कोरोना देखियो भने समाजले अपराधीलाईजस्तो व्यवहार गर्छ भनेर पनि जँचाउन जाँदैनन् । कतिपय गाउँलेमा यो सहरिया रोग हो, हामीलाई लाग्दैन भन्ने अन्धविश्वास पनि छ । कतिपय ठाउँमा आइसोलेसन सेन्टर बनाउन पनि जनताले रोक लगाएका घटना पनि छन् । कतिपयमा धामी, झाँक्रीले निको पार्छन् भन्ने विश्वास अझै पनि छ । यस्तो अवस्थामा मनोसामाजिक परामर्श अभियानको ठूलो महत्त्व राख्नु स्वाभाविक नै हो । यही आवश्यकतालाई बोध गर्दै मेची–महाकाली अभियान सञ्चालन गरिएको हो।
कोभिड संक्रमित बिरामीले गर्नुपर्ने व्यवहार, परिवार वा छरछिमेकमा संक्रमित भएका व्यक्तिले गर्नुपर्ने व्यवहार, संक्रमित नभएका व्यक्तिले ध्यान पुर्याउनुपर्ने व्यवहार,जनप्रतिनिधि र स्वास्थ्यकर्मीले ध्यान दिनपर्ने व्यवहार तथा स्वास्थ्यकर्मीप्रति गरिनुपर्ने व्यवहारका बारेमा मनोसामाजिक परामर्श दिने उद्देश्यले डा. सुवास घिमिरेको नेतृत्वमा शिक्षाविद् कर्णबहादुर शाही, अभिनेता निखिल उप्रेती, समाजसेवी दिनेशकुमार मगर, समाजसेवी शोभा गुरुङ सहितको पाँच सदस्यीय टोलीले रामेछाप, ओखलढुङ्गा, सिन्धुली, बर्दीबास(महोत्तरी), लाहान(सिराहा) आदि स्थानमा साताव्यापी मनोसामाजिक परामर्श अभियान सञ्चालन पूरा गर्न सफल भएको छ ।
अभियन्ताका परामर्श
अभियन्ता डा. सुवास घिमिरे
परामर्श दिने क्रममा डा.सुवास घिमिरेले रोगको सम्बन्धमा गहन बुझाइ हुनुपर्ने, रोगको बारेमा राम्रोसँग बुझ्न सकिएमा आइसियू र भेन्टिलेटरमा राख्ने अवस्था सिर्जना नहुने भन्दै समयमा सजगता राख्ने तरिका र उपचार पद्धतिका बारेमा परामर्श दिनुभयो ।
अभियन्ता निखिल उप्रेती
अभिनेता निखिल उप्रेतीले कोभिडको कारण सामाजिक दूरी कायम गर्ने क्रममा भावानात्मक दूरी टाढा नबनोस् भन्ने ख्याल गर्नु जरुरी छ भन्नुभयो । आत्मबल पर भएर होइन, नजिक भएर बढ्ने हो, त्यसका लागि मनोबल उच्च बनाउन सके इम्युनिटी बढ्छ , आत्मबल बढेको खण्डमा आधा रोग आफैँ बिसेक हु्न्छ भन्दै आत्मबल बढाउने र प्रकृतिलाई पनि सम्मान गर्ने विषयमा परामर्श दिनुभयो ।
अभियन्ता शिक्षाविद् कर्णबहादुर शाही
शिक्षाविद् कर्णबहादुर शाहीले विद्यार्थीको मनस्थितिमा परेको प्रभाव र त्यसमा अभिभावकले ध्यान दिन पर्ने विषयमा परामर्श दिनुभएको थियो । उहाँले कोभिडले शैक्षिक संस्था, विद्यार्थी र अभिभावकलाई कसरी असर परेको छ र त्यसको समाधान मिलेर कसरी गर्न सकिन्छ भन्ने विषयमा बताउनुभएको थियो । अहिले सबै मानिस समस्यामा भएकाले सबैले आफ्नो मात्र नभएर अरूको पनि समस्या बुझी मिलेर समाधान खोज्नुपर्नेमा परामर्श दिनुभएको थियो ।
विभिन्न स्थानमा भएका कार्यक्रमको संक्षिप्त विवरण –
१) मन्थली (रामेछाप)
मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा परामर्श कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री घिमिरे लगायतको उपस्थिति थियो । सो कार्यक्रममा कोभिडबाट सुरक्षित हुन आवश्यक स्वास्थ्य सामाग्री समेत अस्पताल अध्यक्ष तथा पत्रकार महासंघका जिल्ला अध्यक्षलाई अभियानले हस्तान्तरण गर्यो ।
२) सगरमाथा जनता मा.वि. (ओखलढुङ्गा)
सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठको अध्यक्षतामा सगरमाथा जनता मा.वि.को प्राङ्गणमा परामर्श कार्यक्रम सम्पन्न भएको थियो । जहाँ सगरमाथा जनता माध्यमिक विद्यालय (सज मावि) का २०४३ सालका विद्यार्थी समूहबाट पूर्व एआईजी हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी अधिकृत राजेश श्रेष्ठ, अरिदम गुल्मका गणपति विशाल सिंह, समाजसेवी दिनेश राजभण्डारी र हंशराज वाग्ले सहितको समूहले कोभिड विरुद्धका स्वास्थ्य सामग्री काठमाडौँबाट लिएर गएका थिए । उक्त सामाग्री सिद्धिचरण नगरपालिका भित्र पर्ने सबै अस्पताल र स्वास्थ्य चौकीहरूमा कोभिड –१९ विरुद्धको अभियानका लागि निःशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा रेडक्रसका जिल्ला अध्यक्ष श्री सुमन राजभण्डारी, सशस्त्रका डिएसपी लालबहादुर कार्की र जनपदका डिएसपी गोविन्द काफ्ले, जिल्लास्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र पत्रकार लगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रमको सहजीकरण कान्ति राजभण्डारीले गर्नुभएको थियो ।
३) सोलुखुम्बु
सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा सम्पन्न परामर्श कार्यक्रमको सभापतित्व उपमेयर कल्पना राईले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख लालबहादुर कवाडी, स्वास्थ्य प्रमुख तमर मगर, विभिन्न स्वास्थकर्मी, पत्रकार लगायतको उपस्थिति थियो । अभियानलाई दूधकुण्ड नगरपालिका वडा नं. ६ (दुर्पु बजार)का अध्यक्ष रामकुमार श्रेष्ठ र भीमकुमार रोका मगरले विशेष सहयोग गर्नुभएको थियो ।
४) सिन्धुली
सिन्धुलीस्थित जिल्ला अस्पतालको प्राङ्गणमा मेयर खड्ग खत्रीको अध्यक्षतामा परामर्श कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रह्लाद पोखरेल, पत्रकार महासंघका प्रतिनिधि टीकाजंग थापा लगायतको उपस्थिति थियो । उक्त कार्यक्रममा कोभिड १९ बाट सुरक्षित रहन विभिन्न स्वास्थ्य सामाग्रीको वितरण पनि गरिएको थियो ।
५) बर्दीबास (महोत्तरी)
बर्दीबास नगरपालिकाको सभाकक्षमा मेयर विदुर कार्कीको सभापतित्वमा परामर्श कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सांसद शारदा थापा, उपमेयर, रोटरी क्लबबाट सहभागी अध्यक्ष विष्णुबहादुर खड्का, निवर्तमान अध्यक्ष शम्भू भट्टराई, सदस्य हीरा गौतम सदस्य दिपेन्द्र पराजुली, बर्दीबास अस्पतालका इन्जार्च सुनील साह, चिकित्सक, स्थास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति थियो ।
६) लाहान (सिराहा)
लाहानको मारवाडी सेवा समितिमा सम्पन्न परामर्श कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ लाहान सिटीका अध्यक्ष सन्दीप चौधरीले गर्नुभएको थियो । कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष सत्यनारायण यादव, लायन्स हाइटका अध्यक्ष जयकृष्ण यादव, नगरपालिका स्वास्थ्य प्रमुख डा. रामचन्द्र महतो, डा. वीरेन्द्रकुमार मण्डल, डा.सुवासबाबु साह, डा. विनयकुमार यादव लगायतको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण चक्रपाणी दाहालले गर्नुभएको थियो ।
अबको कार्यक्रम
अर्को चरणको ‘मेची–महाकाली मनोसामाजिक परामर्श कार्यक्रम’ असारको पहिलो हप्ताबाट डा.सुवास घिमिरेको नेतृत्वमा गाईघाट (कटारी)बाट मेची हुँदै महाकालीतर्फको लाग्ने छ ।
===