पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक कोरोना सङ्क्रमित महिलाका परिवारको ओम समाज डेन्टल हस्पिटल द्वारा संचालित कोभिड हेल्पलाइनले उद्धार गरेको छ ।
कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा शुक्रबार मृत्यु भएकी बर्दघाट नवलपरासीकी सुनिता श्रेष्ठको परिवारलाई गरिब तथा विपन्न वर्गलाई निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा दिने उद्देश्यले शुरु गरिएको अभियान अन्तर्गत पोखरामा स्थापना गरिएको कोभिड हेल्पलाइनले उद्धार गरेको हो ।
जेठ ८ गते कोरोना संक्रमण पुष्टि भई शुक्रबार अस्पतालमा उपचारको क्रममा निधन भएकी ३१ वर्षीय श्रेष्ठका श्रीमान् र दुई छोरी काज किरियाका लागि घर जान नपाइ अस्पताल परिसरमै अलपत्र अवस्थामा भेटिएपछि उद्धार गरी स्कारपियो मार्फत बर्दघाट पठाइएको अभियन्ता जिता बरालले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमित श्रीमतीलाई गुमाएको पीडामा बाल बच्चासहित अस्पतालमै अलपत्र परेको बेला अभियानबाट सहयोग पाएको भन्दै मृतकका श्रीमान् उपेन्द्र श्रेष्ठले सहयोग गर्ने अभियानकर्ता तथा ओम समाज डेन्टल लाई धन्यबाद व्यक्त गर्नुभयो । हेल्पलाइनले उहाँलाई घर जाने व्यवस्था र बाटो खर्च प्रदान गरेको हो ।
पूर्व आइजिपी सर्बेन्द्र खनाल, डा।सुबाष घिमिरे,ज्ञानेन्द्र शाही,निखिलउप्रेती,केदार घिमिरे लगाएत् थुप्रै समाजसेबीको परिकल्पनामा काठमाण्डौबाट शुरु भएको सो अभियान देवेन्द्र सुबेदीको संयोजनमा पोखरा जिरो किलोमिटर शान्तिनगर चोकमा हेल्प डेस्क खडा गरी सञ्चालन हुँदै आएको छ।
कोभिड १९ को विषम परिस्थितिमा अलपत्र परेका अथवा उपचार गराउन आउन नसकेका गरिब तथा विपन्न वर्गले हटलाइन नम्बर ९८१९१९३०४७ पोखरा तथा ९८५१३१२४१७ र९८५१२७७३४२ र९८५१२३९३४२ काठमान्डू मा सम्पर्क गरी निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने डा।घिमिरे बताउनुभयो ।